काठमाडौं
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० बद्रि कुमार गुरागाईंले सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउने बताउनुभयो ।
बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत उहाँले यस्तो बताउनुभएको हो ।
विश्लेषण नगरी जथाभावी गरिने लगानी, कर्मचारीको दक्षता अभाव र अन्य थुप्रै कारणले सहकारीमा जोखिम आउने गरेको र हाल सहकारीले विश्वासको संर्घष गरिरहनु परेको बताउनुभयो । नियमनकारीको अप्रभावकारीता, संस्थाहरुमा सुशासनको अभाव, सामुहिक भावनाको कमी, श्रोत लागतको विश्लेषणको अभाव, संस्थागत पुँजी कमजोर, कर्जा लगानी नीतिको अभाव र त्यसको विश्लेषण नगर्ने परीपाटीले गर्दा सहकारीमा जोखिम आउने गरेको उहाँले बताउनुभयो ।
वित्तीय संस्था सुरुदेखिनै जोखिम रहने हुँदा त्यसलाई जोखिमरहित बनाउन व्यवस्थापन चुस्त दुरुस्त बनाउनुपर्ने उहाँले औल्याउनुभयो । जोखिमका विभिन्न प्रकार रहनेहुँदा त्यसका लागि पूर्व सर्त निर्धारण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । सहकारीको जोखिम व्यवस्थापन सम्बन्धमा ऐन, नियममा समेत धेरै कुरा उल्लेख भएपनि कार्यान्वयन नहुँदा समस्या आएको उहाँको भनाई छ ।
‘ऐन, नियमावलीले आन्तरिक कार्यविधिको व्यवस्था,
कारोबारको लेखा राख्ने, वित्तीय विवरण प्रकाशन, कर्जा सूचना केन्द्र जस्ता थुपै कुरा बोलेको छ’, उहाँले भन्नुभयो, ‘तर कार्यान्वय गर्न नसक्दा सहकारीहरुमा जोखिम बढेर गएको हो ।’ सहकारी संस्थाहरुले जोखिमको व्यवस्थापन वर्गिकरण गर्दै संस्थालाई जोखिमरहित बनाउनु अहिलेको आवश्यकता भएको सीईओ गुरागाईंले बताउनुभयो । उहाँले कोरिया र क्यानडाको उदाहरण दिँदै सहकारीको जोखिम व्यवस्थापनको मोडल उत्तम रहेको बताउनुभयो । कोरियामा तीन तहको संरचना रहेको र त्यहाँको संस्थाको अनुगमन संस्थागत पुँजी र क्यामेल रेटिङ प्रणालीलाई आधार मानेर गर्ने गरेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले वित्तीय संकटका कारण सहकारीले गरेको लगानी संकटमा परेकाले असुलीका विधि समेत दिन सकेको भए कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
