सम्पर्क

डोजरको बकेटमा राखेर बाह्रबिसेमा सुत्केरीको उद्धार

 

कुमार बस्नेत ९अधिराज०
बाह्रबिसे।।अघिल्लो रातिदेखि नै परेको वर्षाका कारण शुक्रबार अबेरसम्म अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे बजारको साँधीखोल्सा उर्लिएर सडकसहित केही घर पनि ध्वस्त बनाएको छ ।

यहाँ माथिल्लो भेगबाट भास्सिरहेको पहिरो मिसिएको साँधीखोल्साको बाढीले खुर्सानीबारी र बाह्रबिसे बजारलाई सम्पर्क टुटाएपछि स्थानीय र यात्रुहरू सडकछेउमा रोकिए र अलपत्र परेका थिए । वरपर अलपत्र परेका त्रसित स्थानीय र रोकिएका सवारीका लस्कर, बीचमा उर्लँदो खोला तल भोटेकोसी । त्यसैबेला हतारमै बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले एक्स्काभेटर प्रयोग गरेर धमाधम अस्थायी सडक बनाउन निर्देश सहित अफै पनि सँगसँगै बाटो खोल्ने काममा लाग्नुभएको थियो ।

त्यसबेला पारि एउटा एम्बुलेन्स देखिन्थ्यो । उक्त एम्बुलेन्सभित्र आफ्नो शिशुसहित अलपत्र पर्नु भएको थियो २३ दिने सुत्केरी समीक्षा तामाङ । बाह्रबिसे नगर ५ की २८ वर्षीया समीक्षमा जन्डिसले सिकिस्त बिरामी छोरालाई काभ्रेको धुलिखेल अस्पताल पुर्‍याउन आतुर हुनुहुन्थ्यो। साथै उहाँ स्वयं पनि स्वासप्रश्वास समस्याले तनाबमा हुनुहुन्थ्यो। तर बाढीले सडक अवरुद्ध भएपछि उहाँसँग कुनै उपाय भएन । यतिन्जेलसम्म यहाँ स्थानीयहरूको घुइँचो लागिसकेको थियो । कोही बाटो अवरुद्ध भएर आत्तिँदै थिए भने कोही रमिता हेरिरहेका थिए ।

तर जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र नगर प्रमुख बालकृष्ण बस्नेत सँगै बाटो छिटो खुलाउन लागि परि रहनु भएको थियो । त्यहीबीच बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतको गाडी अवरुद्ध सडकको पारिपट्टि रोकिएको मेयर बस्नेतले नै भन्नुभयो । तर खोला पार गर्न मुस्किल थियो । मेयर बस्नेतले नै सुत्केरी तामाङलाई भन्नुभयो सडक बन्न अझै दुई घण्टा लाग्छ, उता पारि नगरकै सवारी कुरिरहेको छ आउनुहोस् ।

तब सुत्केरी र उहाँसँगै आएका आफन्तहरू हतारहतार निस्किएर झोला समाउन थाले । फेरि उपाय निकालियो, एक्स्काभेटरको बकेटबाट सुत्केरीको उद्धार गर्ने । मेयर बस्नेतले एक्स्काभेटर चालकलाई बोलाएर सुत्केरीको परिवारलाई बकेटमा राख्न लगाए र आफू पनि त्यसैमा चढ्नुभयो ।

यसरी एक्स्काभेटरको बकेटबाट शिशुसहित सुत्केरीको उद्धार भएको देखेर स्थानीयहरू दंग थिए । यस्तो हेर्न यहाँ ठूलो भीड नै लागेको थियो । सुत्केरी तामाङ भने असम्भव जस्तै अवस्थाबाट उद्धार भएकोमा अचम्मित हुँदै खुसी हुनुभयो।बिहानदेखि यहाँ आएर कुरेको झण्डै ६ घण्टा भयो, कसैले हाम्रो पीडा देखेको थिएन । उहाँले देख्नुभएछ मन साह्रै खुसी भयो सुत्केरी तामाङले भन्नुभय‍ । मेयर बस्नेतले भने उपचारका क्रममा अन्य समस्या परेमा आफूलाई खबर गर्न भन्दै सुत्केरीको परिवारलाई सुरक्षित रुपमा अस्पतालसम्म पठाइ दिनु भयो।

वर्षा र पहिरोका कारण बाह्रबिसे नगरको वडा नं ९ का विभिन्न स्थानमा ग्रामीण सडक ठप्प भएका छन् । सडक अवरुद्ध हुँदा आवतजावत गरिरहेका वृद्धवृद्धा बालबालिका र बिरामीहरू बढी प्रभावित बनेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल लैजान समस्या देखिएपछि शुक्रबार नगरबाट दुई वटा एक्स्काभेटर प्रयोगमा ल्याइएको पनि मेयर बस्नेतले बतानुभयो ।