सम्पर्क

दुई गजल


रुपक पुरी
(१)
संसारमा सबै भन्दा ठुलो रै छ पैसा
आफु संग हुँदा मात्र कुलो रै छ पैसा ।

लिए पछि दिनु पर्छ भन्ने कुरा बिर्सी
माँग्यौ कि त आगो फाल्ने चुलो रै छ पैसा ।

आफन्तमा फाँटो पारी नाता सबै चुइयो
परिवारै टाँढा पार्ने दुलो रै छ पैसा ।

दिँदा सम्म मात्र जाति छैन भन्दा बैरी
आँखा भित्र बिझाउने धुलो रै छ पैसा ।

कल्पनाको धन हो नी खाएँ पनि के भो
नबिझाउने कहिले नि फुलो रै छ पैसा ।
(२)
साथी संगी हुल छुट्न, तर्के जस्तो गर्नु
केही बिर्सी संम्झी लिन,फर्के जस्तो गर्नु ।

फर्की तिमी आएपछी,अधर चुम्छु मैले
सर्माउदै त्यती बेला, झर्के जस्तो गर्नु ।
हतारमा यात्रारत छौ, खुट्टा ठेस लाग्ला
काँधै हाली थेग्छु म चै, मर्के जस्तो गर्नु ।

बैश हुँदा छोए मात्रै, प्यासी ताप बढ्छ
शान्त पार्न सितल, जल छर्के जस्तो गर्नु ।