सम्पर्क

जल्न नसकेका लासहरु

साहित्य प्रेमी ( निर्मला पुरी )

सत्ता फेरियो
सामन्ती फेरिए,
तर ….!!
फेरिएनन् सामन्तीवादहरु
विधान फुक्यो,
संविधानमा बाधिएको धागो फुक्यो
तर ….!!
कहिलै फुत्किन सकेनन्
पिन्जडामा थुनिएका पन्छीहरु
बाकस फर्कियो,
लास फर्कियो
तर कहिलै फर्किएन,
प्रमाणपत्र धितो राखि
परदेशीएका परदेशीहरुको त्यो मुस्कानहरु
नियम मिचियो,
मध्य दिनमै बालिकाको
घाँटी थिचियो,
तर….!!!
कहिलै मिचिएनन्
अन्धविश्वासका सिमाहरु
खुशी छुटियो,
इज्जत लुटियो
आत्मा दनदनी जल्यो
उसको सपनाको घर ढल्यो,
आफन्तले आँसु बगाए
फूलमाला लगाए
मलामी जुट्यो,
लास उठ्यो
पुत्ला जलाइयो
नारा जुलुस लगाइयो
तर…!!
कहिलै ढलेन्
बलत्कारीको अस्तित्वका धरोहरु
अनि कहिलै बलेन्
त्यो चेलीको आत्मदिप ..!!
घाटमा लगियो
दाउरा बालियो,
उसको अस्तित्वलाई धुजाधुजा पारेर,
बिच सडकमा फालियो
तर….!!
कहिलै फाल्न सकिएन्,
ती नयनहरुले देखेका
सुनौला सपनाहरु
तिमी हेर्न सक्छौ अझै,
उसले टेकेको पाइलाहरु
साचिएको त्यो आशाहरु,
ऊ हेर त ….!
अझै उस्तै छन्
जल्न नसकेका लासहरु …!!
(उदयपुर)