सम्पर्क

बाह्रबिसे कप ब्याडमिन्टन हुने

राष्ट्रियस्तरको बाह्रबिसे कप खुला ब्याडमिन्टन प्रतियोगिता मंसिर १६ देखि १८ सम्म सिन्धुपाल्चोकको खुर्सानीबारी कभर्ड हलमा हुने भएको छ ।
बाह्रबिसे नगरपालिकाको सहयोग र सिल्क ग्रुपको सहयोगमा खुर्सानीबारी खेलकुद कभर्ड हलले कुल ५ लाख ५० हजार रुपैयाँ पुरस्कारको प्रतियोगिता आयोजना गर्न लागिएको हो । मेन्स सिंगल्स, मेन्स डबल्स, वुमेन्स सिंगल्स र भेट्रान डबल्स गरी चार स्पर्धामा ३ सय बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको आयोजक समिति संयोजक पविन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय खेलाडीको सहभागिता बढाउन मेन्स डबल्समा शीर्ष २० वरीयताका खेलाडीलाई प्रतिस्पर्धा गराउने छैनौं । भेट्रान्समा ४५ वर्षमाथिले प्रतिस्पर्धा गर्नेछन् ।’
जिल्लास्तरको प्रतियोगिता गर्ने सोचलाई राष्ट्रियस्तरमा पु¥याएका बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले भन्नुभयो, ‘प्राकृतिक प्रकोप र कोभिड–१९ ले सिन्धुपाल्चोक जिल्लालाई नै धेरै समस्यामा पा¥यो । कोभिड संक्रमण न्युनीकरण भएका बेला शिक्षा, स्वास्थ्य, कृषिसँगै खेललाई प्राथमिकता दिएर राष्ट्रियस्तरको ब्याडमिन्टन गर्न लागेका हौं ।’ उहाँकाअनुसार नगरपालिकाले प्रतियोगिता गर्न १० लाख विनियोजन गरेको छ । सिल्क ग्रुपका प्रमुख रमेश शेर्पाले भने, ‘हामीले दुई वटा सिन्थेटिक ट्रयाक उपलब्ध गराएका छौं । बाह्रबिसे कपलाई आगामी वर्ष पनि सहयोग गर्न पाऊँ ।’
३५ लाख खर्च हुने बताइएको प्रतियोगितामा मेन्स सिंगल्सविजेताले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमिफाइनलमा रोकिने दुई खेलाडीले ३०–३० हजार पाउने छन् । पुरुष डबल्सविजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्राले २५–२५ हजार पाउनेछन् । वुमेन्स सिंगल्सविजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्राले जनही १२ हजार ५ सय हात पार्नेछन् । हलको दुईटा कोर्टमा हुने तीनदिने प्रतियोगितामा सिन्धुपाल्चोकका तीन नगरपालिका र ९ गाउँपालिकासहित देशका चर्चित खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ ।