सम्पर्क

सरकार हराएको समाचार


नेत्रबहादुर बस्नेत

मैले नागरिकता च्याप्न थालेदेखि
म तिम्रो नागरिक ।
मैले मत पत्रमा पहिलो पटक छाप हानेर
बुढी औँलाको नङको फेद पहिलो पटक
एक थोपा निलो मसिले लत्पताए देखि
म तिम्रो नागरिक ।
म औसत तिम्रो नागरिक भन्दै
सदरमुकामतिर बरालिँदै गर्दा
मैले सप्तरंगी ईन्द्रेणीका
सातै रंग चोरेर
मेरो रंगहीन घर रङ्गाउने
सपना देख्दै गर्दा
एक साँझ
रास्ट्रिय टेलिभिजनबाट अचानक
सरकार हराएको ब्रेकिङ् समाचार आयो ।
त्यसपछि धेरै हराए
मैले देखेको सपनाको गोरेटो
परिवारको खुशी हरायो
घर छेउको ठूलो पाटो हरायो ।
र त्यही दिन
सन्दुसबाट बुबाको नामको लालपूर्जा हरायो ।
अनि ,
मलाई साहित्यकार बन्न मन लाग्यो
र लेखे कबिता ।
अब पत्ता लगाउनु छ
कसरि हराउँछन सरकारसंगै सपनाका गोरेटोहरु ?
त्यसपछि एक दिन,
सायद, बिश्व नक्साबाट नै देश हराउने त हैन
यशी चिन्तामा छु म ।
सायद
हाम्रा सन्ततिले फेरि
हामीले विदेशबाट लेराएको टिभीमा देख्नेछन –
आफैले मतदान गरेको सरकार हराएको ब्रेकिङ् समाचार ।