नेत्र बहादुर बस्नेत
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरको कृषि तथा पशुपालनको लागि सरकारले दिएको अनुदानमा २५ प्रतिशत प्रिमियम रकम थप गरेर शत प्रतिशत बिमा प्रिमियमको व्यवस्था गर्दै बिभिन्न महत्वपुर्ण तथा नागरिकमुखी निती तथा कार्यक्रम पास गर्दै २०८१÷०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार पाँच सय रुपैयाँ बजेट पारित गरेको छ ।अधिवेशनले नगर प्रमुख एवंम् सभाध्यक्ष आइतमान तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उपप्रमुख उमा प्रधानले प्रस्तुत गर्नुभएको बजेट र विनियोजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरु सर्वसम्मत पारित गरेर सम्पन्न भएको छ ।
आइतबार नगर सभाहलमा भएको सभामा आर्थिक विकास समिति संयोजक किरणदिप खड्काले सहकारी ऐन संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपंछि ऐन २०८१ पेस गर्नुभएको थियो ।लेखा समिति संयोजक कृष्ण मुरारी चौलागाईले पेस गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ । नगरपालिकाको १६औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न योजनाहरू अघि सार्नु भएको छ । नगरपालिकाले स्थानिय उत्पादनलाई उच्च प्राथमिकतामा राखि आर्थिक बर्ष २०८१÷०८२ देखि हाटबजारको माध्यमबाट स्थानिय उत्पादनको प्रवद्धन र बजारिकरण गर्ने नीति लिएको छ । कृषि तथा पशु विकासको लागि एकिकृत सेवा केन्द्र र घुम्ती शिविर मार्फत कृषकहरूलाई थप सेवा सुविधा पुर्याउने नीति रहेको छ ।कृषकहरूको क्षमता विकासका लागि कृषककै खेतबारीमा गएर तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउने नीति लिएको छ ।
कृषि यान्त्रिकरणको सम्भावना कम भएको एवं यान्त्रिकरणमा लागत बढि लाग्ने क्षेत्रका कृषकहरूलाई प्रोत्साहन गर्न गोरू पालनको लागि अनुदानको व्यावस्था गर्ने नीति तथा कार्यक्रममा समावेश गरीएको छ ।मेलम्ची नगरपालिका वडा नम्बर १३ लगाएतका अन्य वडामा रहेका गुठी जग्गाको दिगो व्यवस्थापनका लागि गुठि संस्थान, प्रदेश सरकार एवं संघीय सरकार आवश्यक समन्वय गरि कुत मिनाह गर्ने र मोहीको नाममा जग्गा दर्ता गरिदिने व्यवस्था मिलाइने निती तथा कार्यक्रममा समाबेश गरिएको छ ।मेलम्ची तथा ईन्द्रावती नदिमा आएको भिषण बाढिबाट क्षति भएका सार्वजनिक तथा निजि संरचनाहरूको पुनर्निर्माण गर्न निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।नगरपालिका भित्रका बजार क्षेत्रबाट उत्पादन तथा संकलन हुने फोहोरमैलाको दिगो तथा वातावरणमैत्री व्यवस्थापनको लागि उपयुक्त स्थान पहिचान गरि फोहोरमैला व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।नीति तथा कार्यक्रम २०८१ -८२ Final नगरपालिकाको प्रगति प्रतिवेदन Final साथै नगर तथा वडास्तरीय संयन्त्र मार्फत विशेष अभियान सञ्चालन गरि नागरीकहरूलाई फोहोर व्यवस्थापनका लागि सचेत गराउने जनाईएको छ । नगरपालिका भित्रका मुख्य बजार क्षेत्रहरूमा आवश्यकता र मागका आधारमा सार्वजनिक शौचालय निर्माण गर्ने उल्लेख गरिएको छ । भ्रष्टाचार शून्य सहनशिलताको नीति अवलम्बन गर्दै विकास निर्माण तथा सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र शुसासन कायम गरि नागरिकमैत्रि बनाउने नगरपालिकाले नीति लिएको छ ।
यस्तै नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । माग र आवश्यकता अनुसार सञ्चारकर्मीहरूको क्षमता विकासको लागि काम गर्ने जनाएको छ ।नगरपालिकाभित्र मृत्यु भएका हरेक नागरिकहरूको मृत्युको कारण सहितको अभिलेख सम्बन्धित स्वास्थ्य संस्थाहरूमा राख्ने कामको सुरूवात गरिने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि एवं सिकाइ आदानप्रदानका लागि मेलम्ची नगरपालिकाको इन्द्रेश्वरी मावि, तेर्से मावि, क्यौलेठाना आवि, जनता मावि, ठुलो थकनि मावि, जाल्पादेवि मावि र सरस्वती माविमा बहुआयामिक छात्रावास निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।त्यसैगरी नगर प्रमुख छात्रवृति मार्फत प्राविधिक शिक्षा र उच्च शिक्षा अध्ययनरत गरिब, जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्ने नीतिलाई निरन्तरता दिने, नीति तथा कार्यक्रममा लगाएतका कार्यक्रमहरु समाबेश गरिएको छ ।नगरसभामा नगर उपप्रमुख उमा प्रधानद्वारा कार्यक्रम, आयोजना तथा क्रियाकलापमा २१ करोड ६८ लाख, वित्तिय हस्तान्तरण र पुजिगत तर्फ १७ करोड ५७ लाख, नेपाल सरकार सशर्त अनुदान नगद अनुदान चालू संघिय तर्फ ४० करोड, नेपाल सरकार सशर्त अनुदान नगद अनुदान पुँजीगत संघिय तर्फ १३ लाख, प्रदेश सरकार सशर्त अनुदान नगद १ करोड ४९ लाख, प्रदेश सरकार सशर्त अनुदान पुँजीगत नगद १ करोड ६ लाख ६० हजार, विभिन्न कोषहरू तर्फ ३ करोड, पुँजीगत खर्च अनिवार्य दायित्व९१ करोड ५७ लाख ८८ हजार गरि कुल १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाले नगरभित्रका मुख्य सडक र वडा कार्यालय जोड्ने सडक, नगरपालिकाको सभाहल निर्माण, स्वास्थ्य संस्थाका भवनहरू, बहुआयामिक सामुदायिक भवन, शिक्षा युवा तथा खेलकुद, फोहोरमैला ब्यबस्थापन, पर्यटन प्रवर्द्वन, लगु उद्यम, राजश्व परिचालन तथा बजार अनुगमन लगायतका क्षेत्रलाई समेटेर नगरसभाको १६औँ अधिवेशनमा विनियोजन प्रस्ताव पेश गरिएको थियो ।