बैशाख महिनामा हाम्रो लघुकथा केन्द्रमा पोष्ट भएका लघुकथा सङ्ख्या ५२८ रहेको र नयाँ लघुकथाकार थपिने क्रम जारी रहेको छ। यस महिनामा नयाँ लघुकथाकारहरू , रमेश पन्त मितबन्धू,हरिप्रसाद पौड्याल,राजेन्द्रमान श्रेष्ठ,रामशरण गैरे,कृष्ण बजगाईँ, रेशा भट्टराई, वीरेन्द्र ढकाल,रामकुमार श्रेष्ठ फुच्चे,काजी गाउँले,रामबाबु घिमिरे रहनु भएको जानकारी चौबिस घण्टामा लघुकथा कार्यक्रमका संयोजक तथा व्यबस्थापक छविलाल खड्काले गराउनु भएको छ ।अनु विज्ञातिकृत् अक्षर रेखा लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।बैशाख २ गते आइतबार जुम प्रविधिमार्फत् स्रष्टा साँझ अमेरिकाले सो कार्यक्रम गरेको थियो । परिचर्चाकारहरू रन्जु खनाल , सत्या अधिकारी , डा. मुकुन्द पथिक , डा. पुष्करराज भट्ट , डा. रवीन्द्र समीर , डा. कुसुमाकर शर्मा गौतम , खेमराज पोखरेलले कृतिभित्र समाहित लघुकथाहरूको गुण दोष केलाउनु भएको थियो । कृतिभित्र समेटिएका लघुकथाहरूले पाठकलाई खुल्दुली जगाउने , सकारात्मक सन्देश दिएको , हास्य र व्यङ्ग्यको प्रयोग भएको , पात्रहरूले समाजको प्रतिनिधित्व गरेको , समाजको यथार्थलाई बोकेको , नारी शक्तिको उजागर गरेको , संवादात्मक अभिव्यक्ति रहेको , चिन्तन र अनुभूतिभन्दा चिन्ता र यथार्थलाई आत्मसात गरेको पाइने बताउनु भयो । त्यसैगरी केही लघुकथाहरू आयामका दृष्टिले काल पक्ष लम्बिएको , विवरण शैलीलाई प्रधानता दिएको र विषयबस्तुमा गाम्भीर्यता नरहेको , क्रमभङ्ग नभएको , कथ्य तादम्यता नरहेको भन्दै आगामी दिनमा कमी कमजोरीप्रति सजग रहन सुझाव दिनु भयो ।लघुकथाको सिद्धान्त र लघुकथा बुझेर लेखिएको कृति अक्षर रेखा कृतिकारको पहिलो कृति भएकाले धेरै आशा गर्नु नहुने,भविष्यमा एक कुशल लघुकथाकार बन्न सक्ने सम्भावना बोकेका कृतिकार भएको धारणा समेत राखिएको थियो । सोही अवसरमा कार्यक्रममा सत्या अधिकारीले कृतिबाट ` छाप´शिर्षकको वाचन गर्नु भएको थियो ।प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रमको अन्त्यमा कृतिकारले आफ्ना लागि कार्यक्रम निकै नै फलदायी रहेको , सुझावहरूलाई आत्मसात गरेर आगामी दिनमा लेखनमा सजग रहने बताउँदै सबै पक्षलाई धन्यवाद दिनु भयो । लघुकथाकार पी पी कोइरालाको डगल्याण्ड लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।बैशाख ९ गते आइतबार , जुम प्रविधिमार्फत् स्रष्टा साँझ अमेरिकाले आयोजना गरेको सो कार्यक्रममा लघुकथा गान बजाएर कार्यक्रम सुरु गरिएको थियो । परिचर्चाकारहरू डा. शेखरकुमार श्रेष्ठ , इन्दिरा चापागाईँ , डा. कुसुमाकर शर्मा गौतम , दीपक लोहनी , रन्जु खनाल र खेमराज पोखरेलले कृतिभित्र समेटिएका लघुकथाहरुमाथि विषयवस्तु , भाव , शैली र प्रस्तुतिका दृष्टिले व्यापक परिचर्चा गर्नु भयो ।लघुकथाहरूमा सामाजिक , राजनीतिक , शैक्षिक , परिवारका विषयमा कलम चलेको , व्यङ्ग्य र प्रतीकको प्रयोग गरिएको , आफ्नै देश , काल र समयलाई बोकेको ,सामाजिक मनोविज्ञानलाई यथार्थमा पस्किएको , मानव र मानवेतर पात्र प्रयोग भएको , सालिनता , शुत्रता , कल्पना प्रयोग भएको , लेखन शैली परिपक्व रहेको , घटना र विसङ्गतिप्रति चिन्तनभन्दा चिन्ता हावी भएको , कतिपय लघुकथामा कथ्यको तालमेल नमिलेको , क्रमभङ्ग नभएको ,अस्तित्ववाद र प्रयोगवादको कमी रहेको , कथाको सामान्य विषयभन्दा प्रमुख विषय ओझेलमा परेको भन्दै सबैले आआफ्ना विचार राख्नु भयो ।प्रा. विश्वराज अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा कृतिबाट छिमेकी शीर्षकको लघुकथावाचन गरिएको थियो । कार्यक्रमको अन्त्यमा कृतिकारले आफूलाई समाज र देशको परिस्थिति र अनुभवले लेख्न प्रेरित गरेको बताउँदै प्राप्त सुझावहरु पृष्ठपोषणकारूपमा ग्रहण गर्ने धारणा राख्नु भयो । कृति लेखन र प्रकाशनमा प्रत्यक्ष अप्रत्यक्षरुपमा साथ सहयोग दिने र उपस्थित सबैप्रति आभार प्रकट गर्नु भयो । कृतिशेष स्वस्तिका सिम्खडाद्वारा लेखिएको लघुकथासङ्ग्रह प्राणप्रतिष्ठाको पाण्डुलिपीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।बैशाख १६ गते आइतबार स्रष्टा साँझ अमेरिकाको आयोजनामा कृतिकारको २० औँ जन्मजयन्तीको अवसर पारेर सो कार्यक्रम जुम प्रविधिमार्फत् गरिएको थियो । वरिष्ठ लघुकथाकार खेमराज पोखरेलको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा डा. कुसुमाकर शर्मा गौतम , ममता मृदुल , रमेशमोहन अधिकारी , रमेन्द्र कोइराला, टङ्कबहादुर आले मगर , नन्दलाल आचार्य , मनोहर पोखरेल र धीरकुमार श्रेष्ठ परिचर्चाकारको रुपमा उपस्थित हुनु भएको थियो । उहाँहरूले कृतिभित्रका लघुकथाहरूको गुण दोष केलाउनुका साथै कृतिकारको व्यक्तित्वमाथि प्रकाश पार्नु भयो । लक्ष्मी रिजालद्वारा सम्पादित , ३३ वटा लघुकथा समेटिएको सो कृतिभित्रका लघुकथाहरूमा नारी चेतना , अग्रगमन सोच , बुढ्यौली मनोविज्ञान , मानव जीवनको अवस्था , बिज वाक्यको प्रयोग ,विषयवस्तु र कथ्यमा समेत विविधता , वर्गीय विषमता , कलात्मक शैली , सरल र बोधगम्य , गान्धिवादी अवधारणा , बेजोडको कल्पनाशक्ति , मानक सिद्धान्त अपनाएर लेखेको , स्वेरकल्पनाको प्रयोग , ढेट नेपाली शब्दहरूको प्रयोग भएको गरेकाले लघुकथाहरू स्वादिला बनेका बताउनु भयो । त्यसैगरी कतिपय लघुकथाहरूमा लघुकथाहरूको सिद्धान्त विपरीत आयाम , परिवेश,समापन , भाषा पक्षमा सुधार गर्ने प्रशस्त ठाउँ रहेको बताउनु भयो । कृतिका सम्पादक लक्ष्मी रिजालले सम्पादनको दौरानमा आएको कठिनाईबारे सम्पादकीय धारणा राख्नु भयो । सभापतीले सम्पादक , परिचर्चाकार ,अतिथि र उपस्थित दर्शक लगायत् सबैलाई धन्यवाद दिनु भयो । कार्यक्रम सञ्चालन विश्वराज अधिकारीले गर्नु भएको थियो । लघुकथा प्रतिष्ठान पोखराको नियमित लघुकथा वाचनको ६० औँ शृङ्खला सम्पन्न भएको छ ।प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा बैशाख ८ गते शनिबार , सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा विष्णु बास्तोलाले संख्यात्मक भन्दा पनि गुणात्मक सिर्जनाले लेखनको सार्थक रुप लिने बताउनु भयो । साहित्यकार अल्पबिराम पोखरेली, कल्याण पन्त, स्ट्रगल राना, काजी गाँउले, पशुपति श्रेष्ठ, शोभा लामिछाने, ढाकामोहन बराल, तेजबहादुर गुरुङ लगायतले लघुकथा वाचन गर्नु भयो ।संस्थाका सचिव अमृत क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।कण लघुकथा मञ्च (कलम ) बेलबारीले २०८१ बैसाख २२ गते शनिबार चतरामा भइरहेको पाँचौँ कुम्भमेलामा उपस्थित जनाउँदै लघुकथा वाचनको कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दीप मङ्ग्रातीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व मोरङ र सुनसरीका लघुकथाकारहरूको उपस्थिति रहेको थियो ।दीप मङ्ग्राती, उमा सिजापती ,शारदा दहाल ,बिष्णु भण्डारी , रोशन पराजुली, शुक्रराज कुँवर ,ईरान राई ,श्रीप्रसाद पोख्रेल ,निरज कोइराला ,लीलानाथ सिलवाल ,सीता रेग्मी , मन्जुश्री गिरी र ऋषि तिवारीलगायत २७ जना स्रष्टाले रचना वाचन गर्नु भएको थियो ।शारदा दहालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा निरज कोइरालाले लघुकथाबारे प्रशिक्षणमूलक भनाइ पनि राख्नुभएको थियोे । हाम्रो लघुकथा केन्द्र , नेपालको बागमती प्रदेशलेलघुकथाकारहरूको भेटघाट तथा लघुकथावाचनको कार्यकम सम्पन्न गरेको छ । बैशाख २८ गते शुक्रबार काठमाडौंँ , तीनकुनेस्थित जय भगवान रेस्टुरेन्टमा सो कार्यक्रम सम्पन्न भएको थियो ।प्रदेशका अध्यक्ष इन्दिरा चापागाईंको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि रमेन्द्र कोइरालाले लघुकथाको विकासमा हाम्रो लघुकथा केन्द्रले खेलेको भूमिका अति नै प्रशंसनीय रहेको बताउदै प्रदेशलाई आगामी दिनमा यस्ता कार्यक्रम पटक पटक गरिरहने सुझाव समेत दिनु भयो .कार्यक्रममा मिसु श्रेष्ठ थपलिया , सुनिता पौडेल , शान्ता तिम्सिना सत्या अधिकारी , एन्जेल निलु , रमेश सुवेदी , मनीषकुमार शर्मा `समित´ र निर्मला बराल , अन्जु शर्मा , ध्रुवराज थापा र प्रार्थना खनालले आ-आफ्ना लघुकथा वाचन गर्नु भएको थियो । वाचित लघुकथाहरूमाथि उपस्थित सर्जकहरूले टिप्पणी गर्नु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि लता के. सीले वर्तमान समयमा लघुकथाको क्षेत्रमा आएका विमतिहरूप्रति सर्जकले खासै चासो नराख्न र सम्पूर्ण लघुकथाकारहरूलाई एकताको भावनामा गाँसिएर बस्न आग्रह गर्नुभयो । लगभग दुई दर्जन श्रष्टाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथि विष्णुप्रसाद उप्रेतीले लघुकथाको अवधारणाको विषयमा उठेका द्वैध चरित्रप्रति प्रश्न उठाउनु भएको थियो । लघुकथाकार एवं पत्रकार श्रीराम राईले आजको कार्यक्रम ऐतिहासिक भएको भन्दै खुसी व्यक्त गर्नु भयो ।कार्यक्रममा उपस्थित सबैलाई अन्जु थपलियाले स्वागत गर्नु भएको थियो । लघुकथा गान बजाएर सुरू गरिएको कार्यक्रम मन्दिरा चापागाईँले सञ्चालन गर्नु भएको थियो ।सो अवसरमा अध्यक्ष चापागाईँद्वारा बागमती प्रदेश ( हा . ल. के.) ले सात सदस्यीय कार्यसमितिको गठन गरेको बताउनु भयो । उहाँले उपाध्यक्ष ध्रुवराज थापा , सचिव मनीषकुमार शर्मा `समित´ , कोषाध्यक्ष मन्दिरा चापागाईं , सदस्य शान्ता तिम्सिना , रमेश सुवेदी र अन्जु शर्मा रहेको जानकारी गराउनु भयो । नवनियुक्त पदाधिकारीहरूलाई शुभकामना दिएर अध्यक्षले कार्यक्रम समापन गर्नु भएको थियो । लघुकथा समाज कोशीद्वारा आयोजित लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।कुमालेको चक्र विषयमा भएको प्रतियोगितामा तीन सदस्य रमेन्द्र कोइराला , विनोद नेपाल र ममता मृदुलको निर्णायक मण्डलले रञ्जना पराजुली , अन्जु शर्मा र मनोहर पोखरेलका लघुकथा उत्कृष्ट ठहर गरेको छ । लघुकथा प्रतिष्ठान नेपालले लघुकथाकार स्वस्तिका सिम्खडाको २०८० साउन २० गते निधन भएको लगत्तै उनका सम्मानका खातिर उनको नाममा स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान – २०८१ को घोषणा गरेको थियो । लघुकथाको क्षेत्रमा लागिपरेका एकजना नवोदित स्रष्टालाई उक्त सम्मान गरिने बताइयो । पहिलो पटक प्रदान गर्न लागिएको सम्मानका लागि सम्मानयोग्य व्यक्तिको छनौट गर्न संयोजक मनोहर पोखरेल र सदस्यद्वय लक्ष्मी रिजाल र टङ्क आले मगरको छनौट समिति बनाएको र समितिको निर्णय अनुसार २०८१ , बैसाख १६ गते उनको बीसौँ जन्मजयन्तीको अवसर पारेर संस्थाले २०८१ सालको सो सम्मान लघुकथाकार एन्जेल निलु ( मिना साह ) लाई सम्मानित गरिने घोषणा गरेको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले लघुकथाको वर्तमान परिदृश्यबारे चर्चा कार्यक्रम सम्पन्न गरेको छ ।बैशाख २२ गते शनिबार पोखरामा हेमजा साहित्य प्रतिष्ठानको रजत वर्ष मनाउने क्रममा सो कार्यक्रम गरिएको थियो । लघुकथा गान र स्वस्तिवाचनसँगै कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सरूभक्त श्रेष्ठले साहित्यको श्रीवृद्धिका लागि लाग्नेहरू निरन्तर साधना र सिर्जनामा लाग्नुपर्ने बताउनु भयो ।उहाँले विधागत परिचय र अवयवका उल्झनमा सचेत स्रष्टा अल्झन नहुनेसमेत सुझाउनु भयो । समारोहबीच प्रतिष्ठानले सरूभक्तलाई रजतजयन्ती विशिष्ट सम्मानसमेत समर्पण गरेको थियो । अन्तरक्रियामा आफ्नो अवधारणा राख्दै कल्याण पन्तले साहित्यका क्षेत्रमा कुनै रचनामा कुनै तत्वको कमी भयो भन्दैमा त्यसलाई विधागत मान्यताबाट च्यूत गरिनु नहुने बताउनु भयो किनभने शरीरको कुनै अंग भएन भन्दैमा त्यो मान्छे होइन ? उहाँको प्रश्न थियो । अवधारणापत्रमाथि टिप्पणी राख्दै शुभ शर्माले लघुकथा विधान, लघुकथा साहित्यको विधा या प्रविधा विषयमा सर्जक स्वयं सचेत हुन आवश्यक हुने धारणा राख्नु भयो ।असफल गौतमले लघुकथाको विधागत विकासका लागि पोखराबाट धेरै कार्यहरू भएको बताउँदै साहित्य विधामा हाम्रो लघुकथा केन्द्रबाट विधागत लघुकथागानको निर्माण हुनु स्तुत्य कार्य भएको बताउनु भयो ।मन्तव्यकै क्रममा कृष्णप्रसाद पौडेलले प्रतिष्ठानले रजत वर्षमा विविध विषयगत कार्यक्रम आयोजना गरेर स्तुत्य कार्य गरेको भन्दै खुसी व्यक्त गर्नु भयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक विष्णु बास्तोलाले प्रतिष्ठानले रजत वर्ष सन्दर्भका २५ विशेष कार्यक्रममध्ये २० औँ कार्यक्रमको रूपमा लघुकथा विधा केन्द्रित कार्यक्रम आयोजना गरेको जानकारी दिनु भयो ।।कार्यक्रममा रूपिन्द्र प्रभावी, भानु भण्डारी क्षितिज, लक्ष्मी थापा, छवि सुवेदी विजयी, गीता तिवारी गौतम, डा. बलराम उपाध्याय रेग्मी, अम्बिकाप्रसाद भट्टराईलगायतले वर्तमान नेपाली लघुकथाका विविध आयामबारे जिज्ञासा राख्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुनिल गायकले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रम सञ्चालक परशुराम अधिकारीले लघुकथा गानबारे जानकारी गराउनु भयो भने दिवाकर पौडेलले कार्यक्रम उद्घाटनको दौरानमा स्वस्तीवाचन गर्नु भएको थियो ।सर्जक विद्या ढकालद्वारा लिखित आमा लघुकथासङ्ग्रहको विमोचन कार्य सम्पन्न भएको छ । बैशाख २५ गते बुधबार मातातीर्थ औँसीको अवसरमा नगरपालिका -४ , ठाँटीको चौर- कालिका बाल उद्यानमा सो कार्यक्रम गरिएको थियो । स्थानीय साहित्यकार तथा जेष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लघुकथाकारविद् डा. पुष्करराज भट्ट, स्थानीय ८६ वर्षीय आमा लक्ष्मीकुमारी मल्ल साथै सर्जकहरूले संयुक्तरुपमा सो पुस्तकको विमोचन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. भट्टले नेपाली लघुकथाका प्रवृत्तिहरूको चर्चा गर्नुभयो । ढकालका लघुकथाहरूमा वर्तमान युग बोल्नुका साथ समाजमा व्याप्त विकृति बिसङ्गतिहरू माथि कडा प्रहार गरिएको उहाँले बताउनु भयो ।त्रिसठ्ठी लघुकथा समेटिएको सो कृतिभित्रका लघुकथाहरूको विवेचना मेदिनी शर्मा चुँदेलीले गर्नु भएको थियो ।मातातीर्थ औँसीको दिनमा सम्पूर्ण आमाहरूको सम्मानस्वरूप आफ्नो आमा लघुकथा सङ्ग्रह सार्वजनिक गर्न पाएकोमा कृतिकारले गौरवको अनुभूति भएको बताउदै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।पदम कार्की, भरत अधिकारी, जयहरि ढकाल, हर्कबहादुर थापा, शिक्षक अमृतप्रसाद मिश्र, पार्वती खनाल, ऋषिराम पन्त लगायतले कृतिको समीक्षाका साथ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । शिवशङ्कर पौडेलले सञ्चालन गर्नु भएको सो कार्यक्रममा कृतिका प्रकाशक शान्ता ढकालले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।* नारी स्रष्टा समाज नेपालको आयोजनामा आज बैसाख ३१ गते सोमबार काठमाण्डौंको अनामनगरस्थित सामाजिक विकास समाजको हलमा रमेन्द्र कोइरालाद्वारा लेखिएको दोस्रो लघुकथासङ्ग्रह जडौरीको विमोचन भएको छ । ममता मृदुलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन , कृतिकार कोइरालालगायत ममता मृदुल , तुलसीहरि कोइराला , गोविन्दमान सिँह कार्की , दीपक लोहनी , यमुना प्रधानाङ्ग , खगेन्द्र बस्यालले कृतिको सामूहिक विमोचन गर्नु भयो । कार्यक्रममा विमोचित कृतिबाट शान्ता तिम्सिना , रामकुमार पण्डित , खगेन्द्र बस्यालले लघुकथा वाचन गर्नु भयो । कार्यक्रमकै दौरानमा दीपक लोहनीले विमोचित कृतिको समीक्षा गर्नु भयो । उपस्थित सबैलाई बिन्दु ढकालले स्वागत गर्नु भयो । कार्यक्रम सञ्चालन रञ्जना पराजुली लम्सालले गर्नु भएको थियो ।
स्रोत – हाम्रो लघुकथा केन्द्र , नेपाल