सम्पर्क

त्रिपुरासुन्दरीमा दही जात्रा
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकावडा नं ५ स्थित तौथली बजारमा बुधबार दही छ्याप्दै ’तौथली जात्रा’ मनाइएको छ । पुरानो र ऐतिहासिक नगरी मानिनतौथली क्षेत्रमा बिभिन्न स्थानबाट आउँनु भएका वृद्धवृद्धादेखि युवासम्मले ठेकी र बाल्टीनबाट अबिर मिसिएको दही निकाल्दै एकआर्कालाई छ्यापाछ्याप गरेर दही जात्रा मनाएका छन । ‘जय जय ओम महादेवी ’भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ वटा परम्परागत लिंगोमा पुजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने परम्परा रहेको त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिनु भयो । उँहाका अनुसार भुकम्पपछि पुरातत्व विभागको तीन करोड ६५ लाखमा चिटिक्क पुरानै संरचनामा पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरअगाडि पुग्दा बधुबार जात्रा झनै ठूलो भएको थियो । दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरबार,खाडो,खुकुरी देखाएर नृत्य निकालिएको थियो ।ललिता त्रिपुरासुन्दरी महादेवी’को मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो । ’तौथलीका मोहन श्रेष्ठले ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको बताउँनु भयो । उँहाका अनुसार गुठियार, स्थानीयले भैसीगाई नथाकोस र पशुपालन ,व्यवसाय सप्रिदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दैआएका छन् । ‘खासमा दही प्रसादको रुपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ ।यसअघि भुकम्पले मन्दिर भत्काएपछि टहराको मन्दिर बनाएर महादेवीको मूर्ति,गरगहना सुरक्षित राखिएको थियो । हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा ,पूजा र बली बडादसैको फूलपातीबाट नै सुरु हुने गर्छ । विजयदशमीको फूलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तिन वटा माछा चढाउँछन् । महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ । दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी,चण्डी, स्याल कहनजस्ता नृत्य जात्रा हुने गरेको छ ।