सम्पर्क

विकास र सुशासन पहिलो प्राथमिकता ः नगर प्रमुख तामाङ

 

ज्यामिरेको सुनखानीमा सामान्य किसान परिवारमा जन्मनु भएका आइतमान तामाङ मेलम्ची नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ । २०४८ सालबाट राजनीतिमा लाग्नुभएका तामाङले नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिरहनु भएको छ । विगत लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील लामाले कराँतेको अन्र्तराष्ट्रिय खेलाडीको रुपमा समेत आफ्नो पहिचान बनाउनुभएको छ ।
समृद्ध मेलम्ची नगरपालिकाको परिकल्पनालाई सार्थक पार्ने उद्देश्यका साथ विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुभएका तामाङ आफ्नो कार्यकालमा नगरवाशीको आधारभूत आबश्यकता पूरा गर्ने अठोटका साथ लागिपर्नु भएको छ । २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख भएपछि गरेका काम र आगामी दिनमा समग्र नगरको विकास निर्माण र आगामी योजनाका सन्दर्भमा मेलम्ची नगर प्रमुख तामाङसँग लोकप्रिय समाचार राष्ट्रिय दैनिकले गरेको वार्तालाप ः

नगर प्रमुख निर्वाचित हुनुभएको एक वर्ष बितेको छ, यो बीचमा नगर प्रमुख हुँदा र नहुँदाको आफ्नो भूमिकामा के भिन्नता पाउनु भएको छ ?
स्वभाविक रुपमा जिम्मेवारीमा हुनु र नहुनुमा भिन्नता त भइ नै हाल्छ । हिजो पार्टीको एउटा जिम्मेवारी मात्र थियो त्यतिबेला पार्टीसँग जोडिएको काम मात्र हुन्थ्यो । अहिले सरकार प्रमुखको भूमिकामा छु त्यसकारण हिजोको भन्दा दायरा फराकिलो बनाउनु जरुरी छ । व्यस्तता बढेको छ । समग्र नगरको समृद्धिका लागि योजना बनाउने र यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी छ । निर्वाचनमा नगरवासीले एउटा गह्रुंगो भारी बोकाएर पठाउनु भएको छ यो भारीलाई कुसलता पुर्वक गन्तव्यमा पु¥याउने लक्ष्यका साथ सिंगो नगरको टिम लिएर हिंडिरहेको छु । सँगै पार्टीको पनि कार्यकारी भूमिकामा रहेकाले दुवै जिम्मेवारीलाई सन्तुलित रुपमा पूरा गर्नेगरी लागिरहेको छु ।

तपाईं नगर प्रमुख भएर आउनुभएपछि कस्ता खालका कार्यक्रमलाई प्राथमिकतामा राख्नुभएको छ ?

संविधानले प्रदान गरेको अधिकार अनुसार नगरपालिका भनेको स्थानीय तहको सरकार हो । स्थानीय भन्नासाथ नागरिकले प्रत्यक्ष भेट्न र अनुभुत गर्न सक्ने सरकार हो । तसर्थ हाम्रो पहिलो दायित्व भनेको नागरिकको सुरक्षा हो र उनीहरुको आबश्यकतालाई परिपूर्ति गर्ने हो । त्यसैले मैले नागरिकको चाहना अनुसार को विकास र सहज सेवा प्रवाहका लागि सुशासनलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छु । हामीले विपदका कारण कोही नागरिकले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले विपद पूर्व तयारीका काम गरेका छौं । सुत्केरी हुन लागेका महिलालाई प्रशुती केन्द्रसम्म आवत जावतका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं । आर्थिक अभावले उपचार गराउन नसक्ने नागरिकका लागि आर्थिक सहयोग प्रदान गर्ने गरेका छौं । यसका अलावा स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा विगतको तुलनामा लगानी बढाएका छौं भने पूर्वाधारको काममा विशेष जोड दिएका छौं । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै यसलाई पर्यटनसँग जोड्ने प्रयास भएको छ । कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक खेती प्रवद्र्धनका लागि किसानलाई पुरस्कारको व्यवस्था गरेका छौं । व्यवसायिक खेतीमा अनुदान दिने गरेका छौं । विभिन्न क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरी उत्पादन बढाउन प्रोत्साहन दिने गरेका छौं । शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरेका छौं । सिभिल इन्जिनियरिङ र कृषि प्राविधिक धारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरु गरिएको छ । संघीय सरकारले कक्षा ५ सम्म दिवा खाजा दिंदै आएकोमा हामीले यसै वर्षबाट कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिन सुरु गरेका छौं । यसै वर्षबाट उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि बजेटको व्यवस्था गरेका छौं ।

पूर्वाधार निर्माणका कुरा गर्दा कस्ता कामहरु बढि भएका छन् ?

विकासको पहिलो आधार भनेकै सडक हो । अन्य पूर्वाधार निर्माणका लागि सडक अत्यावश्यक हुन्छ । त्यसैले हामीले नगर केन्द्रदेखि वडा कार्यालयसम्म जोड्ने सडकलाई बाह्रै महिना सञ्चालन हुने बनाएका छौं । अन्य शाखा सडकहरु पनि मर्मत भएका छन् । अहिले नगरका सबै वडाहरुमा वर्षातका बेला पनि यातायातका साधन सञ्चालन भइरहेका छन् । सामुदायिक भवनहरु बनेका छन् । खानेपानी, सिंचाई, धार्मिक एवम पर्यटकीय संरचना हरु निर्माण गरिएको छ । पूर्वाधार निर्माणका क्रममा हामीले आवश्यकताका आधारमा योजना तर्जूमा गरेर बजेट विनियोजन गर्ने गरेका छौं । अझ हामीले यो वर्ष संघीय र प्रदेश सरकारको नजर नपुगेको महत्वकांक्षी योजना अघि बढाएका छौं । संघ र प्रदेशले बेवास्ता गरेपछि २०७८ सालको मेलम्ची बाढिले बगाएको फट्टेको पक्की पुल नगरपालिकाले बनाउने गरी प्रकृया अघि बढाएका छौं । हामी यसै आर्थिक वर्ष बाट निर्माण कार्य अघि बढाउँछौ र तीन वर्ष भित्र निर्माण सम्पन्न गर्छौं । यो पुल निर्माणपछि मेलम्चीका ७, ८, र ११ वडाका बासिन्दासँगै हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ठूलो भूभागका बासिन्दा समेत लाभान्वित हुने छन् ।

विकास निर्माणका कुरा गर्दा स्थानीय तहबाट हुने विकास निर्माणमा बढि अनियमितता हुने गरेको चर्चा चल्छ नि ?

विकासको आफ्नो प्रकृया हुन्छ । कतै तपाईंले भने जस्तो पनि होला तर, हामीले साना ठूला सबै योजनाको अनुगमन पछि कार्यसम्पन्न मूल्यांकनका आधारमा मात्र भुक्तानी दिने गरेका छौं । उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति हुन्छ, समितिले आफ्नो हिसाबले अनुगमन गर्छ भने अधिकांश योजनाहरुमा म आफै गएर त्यसको गुणस्तर र कामको अबस्थाको अनुगमन गर्ने गरेको छु । प्राविधिकहरुलाई कामको सहि ढंगले अनुगमन र मुल्यांकन गर्न निर्देशन दिएको छु । उपभोक्ता समिति होस वा निर्माण व्यवसायी सबैलाई कामको गुणस्तरमा कुनै सम्झौता नहुने कुरा स्पष्ट बताउने गरेको छु । काम कम गरेर बढि भुक्तानी लिन सक्ने अबस्था नआओस भनेर प्राविधिकलाई समेत अनुगमन गर्ने संयन्त्र निर्माण गरिएको छ ।

मेलम्चीको चर्चा गर्दा पर्यटनको कुरा पनि उत्तिकै आउँछ, पर्यटन प्रवद्र्धनका लागि कस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् ?

हामीसँग प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्रहरु छन् । प्रचारको अभावमा यी क्षेत्रहरु पर्यटकहरुको रोजाईमा पर्न सकेका छैनन् । मेलम्चीका पर्यटकीय क्षेत्रहरु र विकास निर्माणका विषयलाई समेटेर वृत्तचित्र तयार गरिएको छ । जसले पर्यटकीय क्षेत्रको प्रचार हुन सकोस । ज्यामिरेको गुफा डाँडा, गोल्म राजा रानी मन्दिर, भोटेचौरको तपचुली, धौले डाँडा लगायतका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि संरचनाहरु निर्माण गरिएको छ । मेलम्ची बजारलाई आकर्षक बनाउने योजना अघि सारेका छौं । पर्यटकहरुको सुविधाका लागि होमस्टे तालिम सञ्चालन गरेका छौं । स्थानीय उत्पादनलाई पर्यटकमैत्री बनाउन विभिन्न प्रशिक्षण प्रदान गरेका छौं ।

मेलम्ची बाढि प्रभावित क्षेत्र पनि हो, दुई वर्ष अघिको बाढिले बगाएका संरचनाको पुर्ननिर्माण नसक्दै फेरी वर्षा लागिसकेको छ यसका लागि नगरको तयारी कस्तो छ ?

बाढि र पहिरोको जोखिम बढ्ने मध्य वर्षातको समय छ । प्रकृतिसँग जुध्न त सकिंदैन तर सावधानी अपनायो भने यसबाट हुने क्षेति न्युनिकरण गर्न भने सकिन्छ । यसैले हामीले नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आव्हान गरेका छौं । विपदबाट बच्न पूर्व तयारीका कामहरु भएका छन् । सुरक्षा साइरन जडान गरेका छौं । विगतमा जस्तो नदिमा आएको बाढिले क्षति पु¥याउन नसकोस भनेर नदिमा अस्थायी र स्थायी संरचनाहरु बनाएर नदि नियन्त्रणको प्रयास भएको छ । पहिरोको कारण सडक अवरुद्ध हुन नदिन आबश्यक उपकरण र जनशक्ति तयारी हालतमा राखेका छौं । आजै (सोमबार) विहान मात्र पहिरोले अवरुद्ध बनाएको मेलम्ची हेलम्बु सडक खण्ड म आफै गएर समयमा नै सुचारु गराउन लगाएँ । म यो लोकप्रिय समाचार मार्फत पनि आग्ह गर्न चाहान्छु विपदको समयमा सावधानी अपनाऔं र सतर्क रहौं जसले बिपदबाट हुने क्षति कम गर्न सकियोस ।